नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलले देउवालाई समर्थन गरेको चर्चापछि बिहान पौडेल निवास बोहराटारमै पुगेर कोइरालाले भेटवार्ता गरेका हुन् ।
भेटमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखर कोइरालालाई जितको शुभकामना दिएको बताइन्छ । राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्ने भन्दै प्रचार गरेकोप्रति सङ्केत गर्दै पौडेलले आफ्नो समर्थन कोइरालालाई नै रहेको बताए।
यस्तै, पौडेलले संस्थापन इतर एक हुन नसकेकोमा दुःख व्यक्त गरे । सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो । पौडेलले मतदानमा सहभागि नभए पनि आफ्नो समर्थन शेखरलाई रहने बताएका छन् ।





