नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। पौडेलले ६ महिनामा दुई पटक संसद विघटन गरेर व्यवस्था नै संकटमा पुर्याएका एमाले अध्यक्ष ओलीले संसद अवरोध गरेर देशलाई अस्थीरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरेका छन्।
उनले सरकारलाई पनि संसद सुरु गराएर लोकतान्त्रिक गति दिन आग्रह गरेका छन्। ‘६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पौडेलको विज्ञप्तिमा भनिएको छ ।
‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्नेछ।’ उनले अगाडि लेखेका छन्- देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो। समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ। संसद् चल्न सकेन भनेर देउवाले पनि संसद् भंग गरेमा ओलीकै नियति वेहोर्ने उनको आशय छ ।





