Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

राजीनामापछि मीनेन्द्र रिजालले दिए यस्तो प्रतिक्रिया


रक्षामन्त्री डा मिनेन्द्र रिजालले भावावेशमा नभइ राजनीतिक पुँजी बचाइराख्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशमा महामन्त्री पदमा पराजित भएपछि रिजालले आज बिहीवार दिउँसो रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराए ।

उनले भने, ‘राजनीतिक सम्पत्ति गुमाएँ कि जस्तो लाग्यो । मैले निर्वाचन हारेको मात्रै होइन । त्यसैले पनि राजनीतिक पुँजी बचाएर राख्नुपर्छ भन्ने लागेर नै यो राजीनामा गरेको हो । अहिलेको निर्णय रक्षामन्त्री पदबाट राजीनामा दिने निर्णय मात्रै हो । त्योभन्दा अगाडि के हुन्छ सोचेको छैन । राजीनामाभन्दा पनि बढी गम्भीर व्यक्तिगत जीवनमा उतारचढाव होला तर कांग्रेस निश्चल बगिरहन्छ । यसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने गहिरो भाव र निश्चय भावका साथ म अगाडिको निर्णय गर्न सक्ने ठाउँमा उभिएको छु जस्तो लाग्छ । मैले यो विषयमा कसैसँग सल्लाह गरेको छैन । भावावेशमा होइन । ‘

आफूले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उनले स्पष्ट पारे । महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा पराजित हुनुपरे पनि आफूभन्दा सक्षम र सबैले पत्याएको मान्छे छोडेर जानेमा आफू ढुक्क भएको भन्दै रिजालले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना आफ्नो रहेको बताए । उनले पार्टीले चित्तबुझ्दो जिम्मेवारी नदिए राजनीतिबाटै अलग हुन सक्ने सङ्केत पनि गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार