Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेसमा तीन सहमहामन्त्री निर्वाचित, पाँच पदको मतगणना आज


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो। महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छन्। डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन।

आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा पनि कोइराला प्यानलका विकास लामालाई हराउँदै देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन्। जम्मा ४६८१ मत खसेकोमा आङ्देम्बेले २७११ मत ल्याएका छन् भने लामाले १९१३ मत पाएका छन्।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परियार निर्वाचित भएका छन्। सभापति देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्। परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याएका छन्।

अरु पाँच सहमहामन्त्री पदको मतगणना भने आज हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अब मधेसी, खस-आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन बाँकी छन्।


प्रतिक्रिया दिनुहोस !
विचार