नेपाली कांग्रेसको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। आइतबार राति सम्पन्न मतगणना अनुसार खुला केन्द्रीय सदस्यमा शेरबहादुर देउवा प्यानल हाबी भएको छ।
देउवा पक्षले पदाधिकारीमा एक उपसभापति र ६ जना सहमहामन्त्री जितेको छ। एक उपसभापति र एक महामन्त्री तथा दुई सहमहामन्त्री शेखर कोइराला प्यानलले जित हासिल गरेको छ। एक महामन्त्री प्रकाशमान सिंह समूहले जितेको छ।
तर, केन्द्रीय सदस्यमा भने सिंहको प्यानल निल भएको छ। सिंहसहित तीनै सभापतिका प्रत्यासीबाट सूचीमा नाम सामेल भएका शशांक कोइरालाबाहेक सिंह प्यानलबाट कोही पनि निर्वाचित भएन।
मत परिणाम अनुसार देउवा पक्षका २५ उम्मेद्वार विजयी भएका छन्। ९ जना शेखर प्यानलबाट निर्वाचित भए। खुला केन्द्रीय सदस्यको नतिजासँगै देउवाले सुविधाजनक बहुमत प्राप्त गरेका छन्
देउवा प्यानलबाट एनपी साउद, बालकृष्ण खाण, उदय शम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जीपछिरिङ लामा, जीतजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्यनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित, कृष्णकिशोर घिमिरे विजयी भए ।
त्यसैगरी शेखर प्यानलबाट अर्जुननरसिंह केसी, दिलेन्द्र प्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, दिपक गिरी, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, दिनेश कोइराला विजयी भए । साझा उम्मेद्वारको रुपमा शशांक कोइराला पनि लोकप्रीय मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।





