Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमसीसी सम्झौता अगाडि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण


गृहमन्त्री बालकृष्ण खाणले एमसिसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन्। मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाणले एमसिसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका हुन्। उनले एमसिसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए।

उनले भने, ‘एमसिसी पूर्ववर्ती सरकारहरुको पालोमै अगाडी बढेको हो। यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसिसीको प्रस्तावलाई अगाडी बढाएको हो। नेपाल सरकार र एमसिसी परियोजनाको बिचमा धेरै वर्ष अगाडी नै सम्झौता भएको हो। त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो।’

गृहमन्त्री खाणले एमसिसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको स्पष्ट पारे। सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसिसी परियोजना आएको उनले बताए।

उनले एमसिसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरु बीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार