Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

शोभराजको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश


बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।

नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदन बिहीबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको थियो ।

कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ । तर विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै रहेको छ । शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार