नेपाली कांग्रसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ। बाँकी रहेको मतगणना बिहिबार सकिएसँगै १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको छ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो।
सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए।कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित १३४ पदमध्ये सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाई भन्दा बढी पदमा जित हात पारेको छ। पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवापक्षका १०९ उम्मेदवार विजयी भएका छन्। इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन्।
सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन्। थप गरिने सदस्य पनि अधिकांश जसो देउवाले आफूपक्षबाट राख्ने छन्। यस हिसावले पार्टीमा देउवा निकै शक्तिशाली देखिएका छन् ।
यता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज दिइने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । लगतै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। भोलि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ ।





