नेकपा (माओवादी केन्द्र)ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय संगठनले आवश्यक तयारी गरिरहेका छन्। माओवादीको सहायक संगठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ।
माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ। यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताहरुले दावी पेश गरिसकेको अवस्था छैन। पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताहरूले दावी गरिरहेका छन्। संगठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दावी गरेका छन्।
यस्तै‚ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गरेका छन्। यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, गिरिराजमणि पाेखरेलले पनि आफू महासचिवका लागि योग्य रहेको दावी पेश गरेकी छन्। आकांक्षी धेरै भएपनि महासचिवमा शर्मा र पुनबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
नेकपा एमाले र नेपाली कांग्रेसले हालै सम्पन्न गरेको महाधिवेशनभन्दा माओवादीले फरक तरिकाले राष्ट्रिय सम्मेलनको आयोजना गरेको दावी गरिहँदा त्यसबाट कस्तो निष्कर्ष निकाल्ला त्यो भने प्रतीक्षाको विषय बनेको छ।





