नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । दिउँसो १ बजे काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा गर्न लागिएको माओवादीले जनाएको छ ।
त्यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने छ । बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गर्ने छ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। महाधिवेशनका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ ।
सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठौँ महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौंमा आइसकेका छन् ।
माओवादीले सहभागीलाई आफैँ खाने बस्ने प्रबन्ध गर्न भनेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने तयारी छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ ।
संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।
विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पुर्याउने र भरपर्दो कम्युनिस्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने सम्भावना छ ।
राजनीतिक, वैचारिक र साङ्गठानिक रुपमा फरक मत राख्ने नेताहरु नहुँदा पुनः नेतृत्वमा आउन प्रचण्डलाई सजिलो छ । प्रचण्डले आफ्ना पुराना साथीहरुलाई पार्टीमा फर्काउने बताए पनि त्यो सम्भावना कम छ ।





