माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन एकाएक महाधिवेशनमा परिणत भएपछि यसप्रति राजनीतिक वृत्तमा व्यापक चासो बढेको छ । माओवादी केन्द्रले महाधिवेशन गर्ने निर्णय गरेसँगै पदाधिकारीको संख्या १५ बनाउँने जनाएको छ भने केन्द्रीय सदस्यको संख्या २९९ बनाउँने निर्णय गरेको छ । अध्यक्षमा प्रचण्डलाई चुनौती दिन सक्ने हिम्मतिला कुनै पनि नेता नभएका कारण माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड दोहोरिने निश्चित छ । तर, माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष अब को बन्ला अनि अन्य ६ जना उपाध्यक्षमा अरु को को आउलान् ? माओवादी केन्द्रको महासचिव को बन्ला र २ जना उपमहासचिव र ३ जना सचिव को बन्लान् ? यो प्रश्न भने यतिबेला राजनीतिमा चासो राख्नेहरुका मनमा स्वभाविक रुपमा उब्जिएको छ ।
अन्य पदप्रति भोलिका दिनमा जिज्ञासा पक्कै बढ्दै जानेछ । तर, यतिबेला वरिष्ठ उपाध्यक्ष र महासचिव को बन्ला भन्ने विषय धेरैका लागि कौतुहलताको विषय बनेको छ । प्रचण्डलाई नै टक्कर दिन सक्ने क्षमता भएका नेताहरु माओवादीबाट बाहिरिसकेका छन् । डा.बाबुराम भट्टराई देखि लिएर मोहन वैद्य, सीपी गजुरेल हुँदै विप्लबसम्मका नेताहरु प्रचण्ड नेतृत्वको माओवादीमा छैनन् । शसष्त्र युद्ध गर्दाको एउटा ठूलो जमात प्रचण्डले गुमाइसकेका छन् । माओवादीको महासचिव या वरिष्ठ उपाध्यक्षमा दाबी गर्न सक्ने नेता रामबहादुर थापा बादल एमालेमा छिरेर एमालेकै उपाध्यक्ष बनिसकेका छन् । टोपबहादुर रायमाझीदेखि लिएर लेखराज भट्टसम्मका नेताहरु एमालेका सचिव बनिसकेका छन् । अब माओवादीमा बाँकी रहेका नेताहरु मध्ये को चाहिँ बन्ला माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष ? यो प्रश्नको उत्तर खोज्नका लागि माओवादीको अहिले टप लेभलमा रहेका केही नेताहरुको चर्चा गरौं ।
नारायणकाजी श्रेष्ठ यसअघि माओवादीको उपाध्यक्ष रहिसकेका नेता हुन् । माओवादी केन्द्रले अध्यक्ष बाहेकका अन्य पदाधिकारीको पद खारेज गर्नुअघि उनी माओवादी केन्द्रको उपाध्यक्ष थिए । त्यसैले वरिष्ठ उपाध्यक्षमा स्वभाविक रुपमा उनको दाबी रहने देखिन्छ । अहिले माओवादीमा टप लेभलमा रहेका अर्का नेता हुन् कृष्णबहादुर महरा । सभामुख रहँदा एउटा प्रकरणका कारण पद कोल्याप्स भएका यी नेता वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार हुन् । सम्भवतः यीनै दुई मध्ये एक नेता माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष हुनेछन् । प्रचण्डले टीका लगाइदिने अबस्था आयो भने नारायणकाजी र महरा मध्ये कसलाई टीका लगाइदेलान् अनि वरिष्ठ उपाध्यक्षका लागि चुनाव नै हुने अबस्था आयो भने दुई मध्ये कुन चाहिँ नेताले जित्लान् ? यो अर्को रोचक विषय हो ।
प्रचण्डले शसष्त्र युद्धका ती दिनहरु सम्झिए भने पक्कै पनि टीका लगाइदिँदा उनको हात नारायणकाजीतिर भन्दा पहिले कृष्णबहादुर महरातिरै लम्किन्छ । किनकि सशष्त्र युद्धप्रति नै असहमति जनाउँदै माओवादी युद्धमा सामेल नभएका नेता नारायणकाजी श्रेष्ठ हुन् भने कृष्णबहादुर महरा ज्यान हत्केलामा राखेर माओवादी शसष्त्र युद्धमा प्रत्यक्ष होमिएका नेता हुन् । शान्ति प्रकृयामा आएपछि प्रचण्डका खम्बा भएर काम गरेका महरा भन्दा पक्कै नारायणकाजी श्रेष्ठ प्रचण्डको रोजाइमा पर्नु नपर्ने हो । तर, राजनीतिमा जुनसुकै प्रकारको निर्णय गर्न नहिच्किचाउने प्रचण्डले महरालाई छाडेर नारायणकाजीलाई काखी च्याप्दैनन् भन्ने ठोकुवा भने गर्न सकिन्नँ ।
त्यसो त पछिल्लो समय प्रचण्डलाई नारायणकाजीले पनि कम्ता गुण लगाएका छैनन् । शसष्त्र युद्धकै समयदेखि आफ्नो साथमा रहेर काम गरेका अनेकौं नेताहरुले प्रचण्डलाई गाली गर्दै आ–आफ्नो बाटो लाग्दा समेत नारायणकाजी श्रेष्ठ भने प्रचण्डसँगै अडिएर बसेका छन् । सुन्दा सामान्य तर, मनन् गर्दा अत्यन्तै ठूलो गुण हो प्रचण्डका लागि यो । त्यसैले पनि वरिष्ठ उपाध्यक्षमा प्रचण्डले नारायणकाजीलाई टीका नलगाउलान् भन्न सकिन्नँ ।
अब चुनाव हुने नै अवस्था आयो भने चाहिँ महाधिवेशन प्रतिनिधिले के गर्लान् ? एकैछिन् यसका विषयमा चर्चा गरौं । चुनाव नै हुने अवस्था आयो भने पहिल्यैदेखिका माओवादीले पक्कै कृष्णबहादुर महरालाई रोज्नेछन् । माओवादी आन्दोलनमा गरेको त्यागको हिसाबकिताबको मूल्यांकन हुँदा महराको अंक जति आउँछ त्यो भन्दा केही कम नारायणकाजीको आउने अनुमान गर्न सकिन्छ । तर, माओवादी आन्दोलनमा पछि जोडिएका नारायणकाजीले शान्ति प्रकृयायता माओवादीमा पु¥याएको योगदानको मूल्यांकन गर्ने हो भने चाहिँ उनको पनि पल्ला भारी छ ।





