Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिन नेपाल नागरिक अभियानको माग, सेनाको भूमिकामाथि प्रश्न


नेपाल नागरिक अभियानले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्न सरकारलाई आग्रह गरेको छ । अभियानका तर्फबाट राष्ट्रिय संयोजक डा.ठाकुरमोहन श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै पृथ्वीनारायण शाहले तात्कालिन अवस्थामा बाइसे चौबीसे राज्य एकीकरण गरेर नेपाल र नेपाली भन्ने अवसर दिलाएको उल्लेख गरेका छन् ।
राष्ट्र निर्माण जस्तो महत्वपूर्ण काम गर्ने राष्ट्रनिर्मातालाई राज्यले सम्मान गर्नुपर्नेमा केही वर्षयता विदेशीको प्रभाव र दबाबमा अवमूल्यन गर्ने काम भएको नेपाल नागरिक अभियानले आरोप लगाएको छ । नेपाली सेनाको पछिल्लो समयको भूमिकामाथि समेत प्रश्न उठाउँदै अभियानले देशको अस्तित्व जोगाउँने कुरामा सेनाले विशेष पहलकदमी लिन आवश्यक भएको जनाएको छ ।
अभियानका तर्फबाट जारी गरिएको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :
मितिः २०७८।०९।१२ प्रेस विज्ञप्ती ः
“नेपालको गौरवपूर्ण राष्ट्रिय एकता दिवसको पहिचान कायम राखौ, राष्ट्र निर्माणमा पूर्खाको गाथाको सम्मान, संरक्षण सम्वध्र्दन गरौ” कुनै पनि मुलुकमा राष्ट्र निर्माणको ऐतिहासिक गाथा र योगदानलाई संरक्षण र सम्वध्र्दन गरिएको हुन्छ । यो राज्य, सरकार र नागरिकहरूको साझा दायित्व पनि हो । श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको दूरदृष्टिको सहासीक कदम र प्रयासले विशाल नेपालको परिकल्पना साकार हुदै वाईसे चौविसे राज्यहरुलाई एकिकरण भई आज वाकी रहेका भूभाग र संस्कृतिका आधारमा हामी एक स्वतन्त्र देश नेपालका नेपाली हौ भन्नमा गौरव गर्न सकेका छौ । अन्यथा तत्कालीन विश्व शक्ति अंग्रेजको उपनिवेश वनि हाम्रा गौरवपूर्ण ईतिहास र पहिचानमा कुठाराघात हुने थियो भन्नेमा ईतिहास साक्षी छ । २१औं सताव्दीमा पुग्दा समेत राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहका दीव्य उपदेश राज्य संचालन र व्यवस्थापनका लागि निर्वाध रुपमा सतत मार्ग दर्शन हुन सकेको सत्य तथ्य उर्जा सावित भएका छन । राष्ट्र निर्माता तथा राष्ट्रिय सेनाका संस्थापक महान व्यक्तित्व श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको शुभ जन्म दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा सहित हर्ष उल्लासका साथ मनाईदै आएकोमा मूल्यहीन राजनीतिका कुप्रभावमा केही वर्षदेखी वन्द गरिएको सर्वविदितै छ । ईतिहास मासेर मुलुकको पहिचान र सान वढ्दैन । ईतिहास मास्ने दुस्प्रयासलाई ईतिहासले नै दण्ड दिने छ । राज्य सरकारवाट भएको यस प्रकार भूल कमजोरीलाई सुधारगरी राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र गौरपूर्ण योगदान ईतिहासको राष्ट्रिय ससम्मान सहित संरक्षण र सम्वध्र्दन हुनु जरुरी छ । तर हाल मुलुकको अवस्था र राजनैतिक दृष्टिहिनतालाई दृष्टिगत गर्दा राजनीतिक दलहरु र तिन्का सरकारहरुले नागरिकहरुलाई दिगभ्रमित गर्दै विगतका गौरवशाली ईतिहास र पिता पूर्खाकाको योगदान र सहास प्रति गर्व होईन घृणा गर्ने पुस्ता तयार गर्न तल्लिन भईरहेको स्पष्टै देख्न सकिन्छ । यसको चर्को दुश्परिणाम राजनीतिक दलहरुले त भोग्ननै पर्नेछ । आफ्नो संस्थापक र गोरखाली सेनाको नामले विश्वभरी बहादुर सेनाको ईतिहास कायम गर्ने गराउने वीर महानायक प्रति नेपाली सेनाले समेत पूर्ण रुपमा न्याय गर्न नसकेको ऐतिहासिक तथ्य जनताले स्मरण गर्न थालेका छन । तसर्थ श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको शुभ जन्म दिनलाई उच्च सम्मान प्रदान सहित सार्वजनिक विदा घोषणा गरी राष्ट्रिय एकता दिवसको रुपमा हर्ष उल्लासका साथ मनाउने व्यवस्था लागि नेपाल सरकार समक्ष यसै विज्ञप्तीका माध्यमवाट अनुरोध गर्दछौ । साथै साथ समर्थनका लागि अन्तिम आस्थाकेन्द्र राष्ट्रिय सेना तथा आदरणीय नेपाली दाजुभाई दिदीवहिनीहरुमा सादर अपिल गर्दछौ ।


प्रतिक्रिया दिनुहोस !
विचार