नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे के भनेका छन् भन्ने चासो देखिन्छ।
कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको र सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा पास गर्न चाहिरहेका बेला पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि यसबारे चासो देखिएको हो।देउवाले माओवादीकै महाधिवेशन उद्घाटन सत्रमा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएका थिए ।
तर प्रचण्डले प्रतिवेदनमा यसबारे एउटा बुँदा मात्रै उल्लेख गरेका छन् । एमसीसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।





