संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीको तिब्र आलोचना गरेका छन् । पर्यटन बोर्डकै स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने जिकिर गरेका छन् ।
मन्त्री आलेले सिइओ रेग्मी कै कारण आफु लण्डनमा अपमानित हुन परेको बताए ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ? मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको पनि उनले सुनाए ।
उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न चेतावनी दिए । ‘चार ओटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’





