नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनलाई टुट्न दिनु नहुने बताएका छन् । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले गठबन्धनमा सल्लाह गरेरमात्र टिकट बाँड्ने बताउँदै गाउँमा कांग्रेसभन्दा एमाले नै बलियो रहेकोले गउँ केन्द्रित अभियान चलाउन आग्रह गरे ।
रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरु पूर्वजिल्लासभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई वागमतीबाट राष्ट्रियसभाको टिकट माग्न बालुवाटार गएका थिए । उनीहरूसँग देउवाले गठबन्धन छाडेर कांग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए ।
अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए । देउवालाई भेट्न कांग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्वसभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरु भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसीलगायतका नेता बालुवाटार पुगेका थिए ।








