कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको थियो।उक्त प्रकरणमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘निर्मला मृत फेला परेको क्षेत्रको आसपासमै तरकारी खेती गर्दै आएका भारतीय नागरिकका छोरा पक्राउ परेका छन्। घटनाबारे केही खुल्छ कि भन्ने आशा छ।’
उनको पहिचान भने खुलाइएको छैन। साढे ३ वर्षसम्म पनि निर्मला पन्त प्रकरणमा प्रहरीले पर्दा उघार्न सकेको छैन।निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठे पनि प्रहरीले दोषीलाई कानूनी दायरामा ल्याउन नसकेको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको बताएका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया निर्मला ०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्।भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला परेको थियो। त्यसपछि निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आएको थियो।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।





