नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दै छ। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ। बैठकबाट पदाधिकारी चयन गरिने बताइएको छ।
प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए। खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपले पारित थियो।
बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय पनि आज नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुङ्ग्याइने प्रवक्ता कृष्णबहादुर महराले जनाकारी दिए। पदाधिकारी अन्तर्गतका विभिन्न पदमा आकांक्षीहरुको लर्को लागेकोले प्रचण्डले नाम सुनाउने र केन्द्रीय सदस्यहरुले समर्थन जनाएर नेततृत्व चयन गर्ने तयारी छ ।
अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र महासचिवमा जनार्दन शर्माले जिम्मेबारी पाउने तय भएको बताइन्छ ।








