सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो। आसन्न राष्ट्रिय सभा निर्वाचनको तयारी तथा साझा उम्मेदवारको विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए।
आगामी मंगलबार उम्मेद्वारको मनोनयन दर्ता गर्नुपर्ने भएकाले गठबन्धनको बैठक बस्न लागेको हो। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ। माघ १२ गते राष्ट्रिय सभाको १९ सदस्य पदका लागि मतदान निर्वाचन हुँदै छ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन्। कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ। माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४-४ सीट दिएर थप एक–एक सीट दिने कांग्रेसको तयारी रहेको छ।








