निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए।
निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन्। आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन्।
लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूर पश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ।
निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ। निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ। आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ। निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागू गराउने आयोगले योजना बनाएको छ।





