प्रधानमन्त्री शेरबहादुर देउवा बिहानै सुनसरी प्रस्थान गरेका छन् । सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज बिहानै हेलिकोप्टरमार्फत त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यतालिका छ।
उनले धरानका मेयर तिलक राईको निवासमा खाना खानेछन्। त्यहाँ उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने मेयर राईका प्रेस संयोजक पारस राईले बताए। यस्तै देउवाले पानमारामा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि रहेको छ। यस्तै उनले धरानमा नवनिर्मित व्यवहारिक शिक्षालयको पनि उद्घाटन गर्नेछन्।
प्रधानमन्त्री देउवाले आज नै धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्नेछन्। उनी धरान डेमा पनि सहभागी हुने छन्। धरान उपमहानगरपालिकाले पुस २० गतेलाई ‘धरान डे’को रूपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्ष मनाउने गरेको छ।








