देशका धेरै ठाउँमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण बिहानैदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
दिउँसो काठमाडौं उपत्यकामा केही ठाउँमा वर्षा हुने मौसमविद् शाक्यले बताइन् । उनकाअनुसार पर्सिसम्म नै हल्का वर्षाको सम्भावना छ । आउँदो आइतवारदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविद्ले बताएका छन् ।
यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ।





