प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आफू संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
त्यस अवसरमा उनले यसको संक्रमण दर बढन नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरुको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए । संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।
बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरुको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ । बैठकमा कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए ।








