Logo
१३ भाद्र २०८३, शनिबार
|  Sat Aug 29 2026

प्रचण्ड र विप्लवसँगको एकताबारे मोहन बैद्य किरणले दिए यस्तो प्रतिक्रिया


नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ ।मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग भने एकता सम्भव नभएको बताएका हुन् ।

माओवादी केन्द्रले आफूलाई संविधानको असली संरक्षकका रुपमा प्रस्तुत गरेको, तर आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने उनले बताए ।प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै क्रान्तिकारी माओवादीका महासचिव बैद्यले अघि भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ, उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन । हाम्रो पार्टी एकता सम्भव छैन ।’

विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको बताए । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनले स्मरण गरे ।पछिल्लो समय त जनमत संग्रहबाट समाजवाद ल्याउने कार्यदिशा अगाडि सारेको भन्दै बैद्यले भने, ‘प्रचण्डजीहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवजीहरुले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो र ?’ मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एउटा खुट्टा संघर्षको मैदानमा र अर्को खुट्टामा सरकारतिर राखेकाले एकता सम्भव नभएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार