Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

आजबाट काठमाडौं उपत्यकामा लाग्यो यस्तो प्रतिवन्ध


कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको जोखिम घटाउन राजनीतिक भेला र मेला महोत्सव गर्न रोक लगाएको हो ।

जारी गरेको आदेशअनुसार सार्वजनिक गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ । घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ ।

अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति लिन भनिएको छ । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत सार्वजनिक ठाउँमा जाँदा आउँदो माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ ।

शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।

सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार