धादिङको रुबी भ्यालीमाबाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जनाको खोजी जारी छ। धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार हिजो दिनभर खोज्दा पनि पहिरोमा बेपत्ताहरू नभेटिएकाले आज शुक्रबार बिहानै पुनः खोजी सुरु गरिएको हो।
रुबी भ्याली र लिङ्जो जोड्ने ट्रयाक सडक खन्ने क्रममा बिहीबार बिहान डोजरसहित यसका चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय बासिन्दा अनिश तामाङ पहिरोमा पुरिएका हुन्। भण्डारीका अनुसार चालक अन्दाजी २७/२८, सहचालक १९/२० र स्थानीय अनिश २७/२८ वर्षका छन्।
खोजीका क्रममा अहिलेसम्म पहिरोमा पुरिएको बा २ क ४८२१ नम्बरको डोजरको केही भाग मात्र देखिएको छ। तर मानिसको अहिलेसम्म नामोनिशान देखिएको छैन। उनीहरूको खोजीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्।








