Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रदेश २ को नाम र राजधानी तोक्न दोस्रोपटक आज मतदान हुँदै


प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न दोस्रोपटक आज प्रदेश सभा बैठकमा मतदान गरिँदै छ। मतदान बिहान ११ बजे सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन भनेर प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले यस विषयमा सहमति जुटाउन नसकेपछि आज मतदान गर्न लागिएको हो।

समितिले आइतबार बसेको प्रदेश सभा बैठकमा यसै साता गोप्य मतदानलगायत ६ वटा विकल्पसहितको प्रतिवेदन पेस गरेको छ। विशेष समितिले गत पुस १५ देखि २७ गतेसम्म भएका ८ वटा बैठकबाट प्रदेशको सम्भावित नामका लागि पेस ६ वटा नामलाई ४ र राजधानीका लागि पेस ६ प्रस्तावलाई ३ मा झार्न भने सफल भएको छ।

जसअनुसार प्रदेशका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम तथा स्थायी प्रदेश राजधानीका लागि जनकपुरधाम र वीरगन्ज दुई स्थान प्रस्ताव गरिएको छ। वीरगन्ज प्रस्तावमै पनि भूभागका सन्दर्भमा फरक फरक प्रस्ताव भएकाले राजधानीका सन्दर्भमा ३ प्रस्ताव भएका हुन्।

‘मधेस प्रदेश’ नाम सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र सत्ता घटक नेकपा माओवादी केन्द्रको संयुक्त प्रस्ताव हो भने त्यसमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ। ‘मिथिला भोजपुरा’ नामको प्रस्ताव नेपाली कांग्रेसले राखेको हो। जसको प्रस्तावक कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरी हुन्। ‘जानकी प्रदेश’ को प्रस्ताव नेकपा एकीकृत समाजवादीको हो। यसमा प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गरेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार