Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माघ २७ मा पदाधिकारीको निर्वाचन गर्ने माओवादी केन्द्रको निर्णय


नेकपा माओवादी केन्द्रले माघ २७ गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ ।महाधिवेशन सकिएको डेढ महिनापछि माओवादीले पार्टी कमिटीलाई पूर्णता दिने भएको हो ।पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका हुन् ।अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने उल्लेख छ । प्रचण्डको परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।

साथै केन्द्रीय समितिको उक्त बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुको इन्चार्जहरुलाई नै यथावत जिम्मेवारी दिने माओवादीको तयारी छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा प्रदेश समितिहरुले प्रदेश समिति र पदाधिकारी निर्वाचनलाई पूर्णता दिने कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रचण्डले आगामी बर्ष २०७९ निर्वाचन वर्ष हुने भन्दै त्यसका निम्ति पार्टी पंक्तिलाई आवश्यक अध्ययन विश्लेषण र योजना निर्माणको कार्यका पहल सुरु गर्न पनि निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार