Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

गृहले सच्यायो भिजिट भिसासम्बन्धी प्रावधान


भिजिट भिसामा मानव तस्करी बढेको भन्दै खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएको छ । अत्यावश्यक काम पर्दा र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान दिने निर्णय मन्त्रालयले आइतबार गरेको छ ।गृहले शुक्रबार खाडी तथा मलेसियामा भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णय गरेको थियो । त्यसबाट अत्यावश्यक कामले ती देश जान लागेका सयौँ नेपाली समस्यामा परेपछि निर्णय सच्याइएको हो । व्यापार, उपचारलगायत कामले जानेले आफू समस्यामा परेको गुनासो मन्त्रालयमा गरेका थिए । गृहको निर्णयअनुसार व्यापार र उपचारका लागि ती देश जान चाहनेलाई सहज रूपमा जान दिइनेछ । त्यससम्बन्धी प्रस्ट परिचयपत्र र कागजपत्र आवश्यक पर्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

त्यस्तै, खाडीबाहेक अन्य दुई देश घुमिसकेका व्यक्तिको हकमा पनि भिजिट भिसामा जान दिने मापदण्ड बनाइएको छ । अन्य देश घुमिसेकका व्यक्ति भिजिट भिसाका नाममा खाडी काम गर्न जाने सम्भावना कम हुने भएकाले यस्तो नियम लागू गरिएको हो । अन्यको हकमा वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भएका र खातामा पैसा भएकाले जान पाउनेछन् । यसका लागि तलब खाताको बैंक स्टेटमेन्ट देखाउनुपर्नेछ । भिजिट भिसाका नाममा काम खोज्न जाने प्रवृत्ति रोक्न यस्तो नियम बनाइएको गृहले जनाएको छ ।

मेनपावर व्यवसायी र उनीहरूका प्रतिनिधि, आयात–निर्यात गर्ने कम्पनी तथा त्यससम्बन्धी संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिले पनि भिजिट भिसामा जान पाउने गृह मन्त्रालयका प्रवक्ता पोखरेलले बताए । उपचारका लागि जान पाइने, तर बिरामी कुरुवाको हकमा नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई लेखिपठाउनुपर्ने मापदण्ड बनाइएको छ ।

पछिल्ला केही महिना हजारौँ नेपाली भिजिट भिसामा खाडी देश र मलेसिया पुगेका थिए । मानव तस्करी समूहले अध्यागमन कर्मचारीसँग सेटिङ मिलाएर उनीहरूलाई ती देश लगेको आकलन छ । त्यहाँ पुगेर अलपत्र पर्नेको संख्या ठूलो भएपछि गृहले यसमा कडाइ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार