राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको खुलासा भएको छ । गत बिहीबार भएको करिव एक घण्टा भएको भेटमा भण्डारीले लिखित रुपमै धारणा राखेको र त्यही पत्र प्रधानमन्त्रीलाई थमाएकी हुन् । यो विषयलाई लिएर सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीको चर्को आलोचना भएको छ ।
स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भन्दै राष्ट्रपतिले समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको पत्रबारे छलफल भएको थियो ।
नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र दिनु असंवैधानिक भएको बताएका छन् । सक्रिय राजनीति गर्ने प्रयास नगर्न गठबन्धनले राष्ट्रपतिलाई चेतावनी दिएको छ ।








