सत्तारूढ गठबन्धनमा आउँदो जेठ महिनाभित्र निर्वाचन गर्ने सहमति जुट्यो । निर्वाचन आयोगको परामर्शमा मिति तोकिने भनिए पनि परामर्शका लागि हालसम्म जानकारी गराइएको छैन । परामर्शका लागि आफूहरू तयार नै रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।
गठबन्धनको निर्णयसँगै अब निर्वाचन हुने देखिएको उनले बताए । सत्ता गठबन्धनले ऐन संशोधन गरेर जेठमा निर्वाचन गर्ने बताए पनि जेठ ५ गतेअघि नै निर्वाचन गर्नुपर्नेमा आयोग प्रष्ट रहेको उनले बताए । जेठ ५ गते स्थानीय तहको म्याद सकिने भएकोले त्यसअघि निर्वाचन हुनुपर्ने थपलियाले बताए ।
जेठ ५ अघि नै निर्वाचन गर्न पर्याप्त समय भएकाले आयोग त्यसका लागि तयार रहेको उनले उल्लेख गरे । स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद जेठ ५ गते सकिँदै छ । निर्वाचन आयोगले यसअघि वैशाख १४ गते निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।








