Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

नारायणहिटीको महायज्ञ सरकारले रोकिदियो


नारायणहिटी दरबार संग्रहालयभित्र गर्न लागिएको महायज्ञ सरकारले रोकिदिएको छ । यही माघ १९ गतेदेखि गर्न लागिएको सती श्राप मुक्ति श्री शिव महायज्ञ कोरोनाको कारण देखाउँदै रोकिदिएको हो ।
महायज्ञ आयोजकका तर्फबाट मंगलबार पत्रकार सम्मेलन गर्दै महायज्ञका संयोजक तारा बहादुर कुँवरले नारायणहिटी दरबार संग्रहालयबाट महायज्ञ स्थगित गर्न आग्रह गर्दै पत्र आएको जानकारी दिए । गएको पुस २२ गते महायज्ञ गर्न दरबार संग्रहालयले स्वीकृती दिएको बताउँदै उनले सरकारले स्वीकृति दिएर सरकारले नै स्थगित गर्न आग्रह गरेको बताए ।
महायज्ञ सञ्चालनको सम्पूर्ण तयारी पूरा भएपछि सरकारले स्थगित गर्न पत्र पठाएका कारण आफुहरु दुखित भएपनि हतोत्साहित भने नभएको उनको भनाई छ । उपयुक्त समयमा पुन ः महायज्ञ लगाउँने बताउँदै उनले सके नारायणहिटी भित्रै नभएपनि अन्य स्थानमा महायज्ञ लगाउँने जानकारी दिए ।
महायज्ञको साइतका विषयमा यसअघि विभिन्न आलोचना भएको बताउँदै उनले अर्को महायज्ञको साइत जुराउँने जिम्मा आलोचकहरुलाई नै आफूहरुले दिने समेत बताए । साइतका विषयमा विभिन्न विद्धानहरुका फरक फरक मत आउँदा आफूहरु चकित भएको बताउँदै संयोजक कुँवरले पात्रो हेरेर निकाल्ने साइत विद्धान नै पिच्छे किन फरक भयो भनी प्रश्न समेत गरे ।
सती श्रापबाट देशलाई मुक्त गर्न भन्दै श्री सती श्राप मोक्ष धाम र हजुरलाई नमस्ते परोपकारी अभियानले यही माघ १९ गतेबाट नारायणहिटीमा महायज्ञ गर्न लागेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार