महाकाली नदीमा पुल बनाउन नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले दुई देशबीचको आवागमन सहज हुने बताइन् । त्यस अवसरमा उनले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरिन्।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुसीजनक रहेको बताए ।








