कोरोना संक्रमणको विस्तार रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी गरेका छन्। संक्रमण घट्दै गएको र गरिखाने वर्गलाई पनि मार पर्न थालेको भन्दै जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो।
काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली गत माघ १४ गते मध्यरातदेखि लागू हुने गरी निजी सवारी साधन र ट्याक्सीमा सीमित गरिएको थियो। सार्वजनिक यातायातका साधनमा लागू गरिएको जोरबिजोर भने हटाइएको थियो। एक साताका लागि लागू गरिएको सो व्यवस्था शनिबार मध्यरातसम्म कायम रहनेछ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने संक्रमण घट्दै गएको र यही गतिमा घट्दै गए पूर्ववत् निर्णयमा पुनर्विचार हुनसक्ने बताए। ‘आइतबार हामी बैठक बस्छौं’, उनले भने, ‘सीसीएमसीको पनि बैठक बस्ने जानकारी पाएका छौं। त्यहाँबाट के निर्णय हुन्छ, त्यसका आधारमा हामीले निर्णय लिनेछौं।’








