Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

प्रजातन्त्र दिवसमा दौड प्रतियोगिता


प्रजातन्त्र दिवसको अवसरमा दशरथ रंगशालामा दौड प्रतियोगिता आयोजना भएको छ ।
शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा काठमाडौंमा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे । पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेश्रो, सैनिक आवसिय मावि, भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा दौड टुंगाए ।
छात्राको ३ किलोमिटर दूरी मनीषाले १५ मिनेट १५.८ सेकेन्डमा सक्काइन् । दोश्रोदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, नेपाल आदर्श मावि, काठमाडौंकी सरिता साह, जेसिसकी उर्जा मधिकर्मी र जेसिसकै स्वागता खाइजु रहेका छन् । दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सविच डा. दामोदर रेग्मी, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि दौडको मन्त्री गहतराजले नै उद्घाटन गरेका थिए । सो क्रममा उनले खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
७२ औं प्रजातन्त्र दिवसका अवसरमा आयोजित दौडमा २ सय प्रतिस्पर्धी सहभागी भएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार