Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

कांग्रेसको अधिवेशनका लागि सात जिल्लामा तोकिए निर्वाचन अधिकृत


नेपाली कांग्रेस निर्वाचन समितिले थप सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । शुक्रबार अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौंसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत तोकिएको छ ।

समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरूले क्रियाशील सदस्यता सूची तथा अधिवेशनका लागि आवश्यक सामग्री बुझिसकेका छन् । “हामीले सात जिल्लाको क्रियाशील पाउनेबित्तिकै जिम्मेवारी तोकेका हौँ,” उनले भने, “अधिकृतज्यूहरूले बिहीबार नै अधिवेशनका लागि अवाश्यक सामग्री समितिबाट लिइसक्नुभएको छ ।”

श्रेष्ठका अनुसार काठमाडौं जिल्लाको अधिवेशन गराउने जिम्मेवारी वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई दिइएको छ । यस्तै, मोरङमा केदार कार्की निर्वाचन अधिकृत बनेका छन् । काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छविरमण निरौला तथा बाजुरामा सन्तोष भण्डारीले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।श्रेष्ठका अनुसार बर्दियामा लोकबहादुर शाह र कपिलवस्तुमा घनश्याम पन्त निर्वाचन अधिकृतको रूपमा जिल्ला प्रस्थान गरेका छन् ।

यसअघि, गएको भदौ १८ गतेदेखि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । २० जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टीले टुंगोमा पुर्‍याउन नसक्दा वडा अधिवेशन सुरु हुन सकेको छैन । क्रियाशील विवाद समाधान कार्यदलले हालसम्म १० जिल्लाको मात्र विवाद टुंगोमा पुर्‍याउन सफल भएको छ । बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन असोज ५ गते गर्ने कार्यतालिका छ ।


प्रतिक्रिया दिनुहोस !
विचार