Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कार्तिकदेखि तलव पाएनन् ‘नेपाल—कोरिया नगरपालिका अस्पताल’ थिमिका स्वास्थ्यकर्मीले


बलराम प्यासी 

काठमाडौं, ११ फागुन । ‘नेपाल—कोरिया मैत्री नगरपालिका अस्पताल’ मध्यपुर थिमिका स्थायी र करारका डाक्टर, नर्ससहित प्रशासनिक कर्मचारी गरी दुईसयभन्दा बढीले गत कार्तिक महिनादेखि तलवको अनुहार देख्न पाएका छैनन् । त्यतिमात्र नभई विगतका दशैंमा पाउँदै आएको दशैं पेश्की यो वर्षको दशैं सकिएको पाँच महिनासम्म पनि ती कर्मचारीले पाएका छैनन ।

मासिक १५ हजार भन्दा कम तलव थाप्ने सफाई कर्मचारीले वाहेक त्यसभन्दा बढी तलव थाप्ने दुईसयभन्दा बढी डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीले असोज महिनाको तलव थापेदेखि त्यसपछिको चारमहिनाको तलव देख्न नपाएको पीडित कर्मचारी बताउँछन् ।

मध्यपुर थिमि नगरपालिका मातहत सञ्चालित सो अस्पतालको सञ्चालक समितिका अध्यक्ष सो नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ छन । उनी नेकपा एमालेबाट निर्वाचित हुन ।

नगरप्रमुख नै सो अस्पताल सञ्चालक समितिको पदेन अध्यक्ष हुने नियमावली बनाएपछि नगरप्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा परिवारका सदस्य तथा पार्टीका कार्यकर्ता गरि २५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी अन्धाधुन्दरुपमा करारमा नियुक्त गरेका थिए ।

यतिमात्र नभई उनले सो अस्पतालको कार्यकारी निर्देशक पदमा आफ्ना नातेदार समेत रहेका पाटन अस्पतालका स्थायी चिकित्सक डा.ज्ञानकृष्ण कायस्थलाई नियुक्त गरेका थिए ।

पछिल्लो समय अस्पतालका चिकित्सक र नर्सलाई समयमै तलव दिन नसकेपछि त्यहाँ कार्यरत ६० जना भन्दा बढीले जागीर छोड्दा सो अस्पतालको उपचार सेवामा प्रतिकूल असर परेको विरामीको गुनासो छ ।

अस्पतालमा उपचारको लागि आएका विरामीबाट मासिक करीव ६० लाख कमाउँदै आएको सो अस्पतालका सबै तहका स्वास्थ्यकर्मी र कर्मचारीको लागि तलव र सुविधामा मात्रै मासिक डेढ करोड रुपैैयाँ खर्च हुँदै आएको छ ।

स्थानीय निकायका पदाधिकारीहरुको चारवर्षे पदावधि सकिन ६ महिना बाँकी हुँदा नगरप्रमुख श्रेष्ठले अस्पतालका कर्मचारीको तलवबारे चासो नदिँदा उनको पदावधि सकिँदा नसकिँदै ती कर्मचारीहरुको जागीर पनि धरापमा पर्ने निश्चित देखिएको छ।उनको कार्यकाल अव २ महिनामात्रै बाँकी छ ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स लगायत प्रशासनिक कर्मचारीले चार महिनादेखि तलव नपाउँदा पनि नगरप्रमुख श्रेष्ठको गुनगान गाउँदै आएका भक्तपुरका स्थानीय पत्रकारहरु मौन रहनुलाई अस्पतालका कर्मचारीहरुले अनौठो मानेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको सो अस्पताल नेपालको एकमात्र नगर अस्पताल हो । सो अस्पताल दक्षिण कोरियाको वैदेशिक सहयोग नियोग ‘कोइका’द्वारा निर्माण गरिएको हो ।

केही दिनअघि मात्र कोइकाले सो अस्पतालको भौतिक अवस्था सुधार्न र शैय्या थप्नको लागि १० वर्षअघि भएको सम्झौता अनुसार करीव ८५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सो रकम अस्पतालको प्रशासनिक या अन्य प्रयोजनमा खर्च गर्न पाइँदैन ।


प्रतिक्रिया दिनुहोस !
विचार