नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिबेशनबाट सक्षम नेतृत्व आउने विश्वास व्यक्त गरेका छन् । शनिबार गणेशमान सिंहका २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधी विधान अनुसार समस्या समाधान गर्नु पर्ने बताए।
‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ,’ उनले भने, ‘महाधिबेशन निष्पक्ष रुपमा गर्नु पर्छ। विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्छ।’ नेता सिंहले आफूहरुको समूहबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको बताए। तर, आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइ थियो।
गठबन्धनका केही दलको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको दाबी गरेका छन्। नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच सहमति नुहँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए।
उनले अब चाँडै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे। नेता सिंहले कम्युनिस्टहरुको दुई तिहाइको सरकारले जनभावनामा अनुरुप काम गर्न नसक्दा गठबन्धनको सरकार बनेको बताए। उनले कम्युनिस्टहरु असफल भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको र सरकारले जनभावना अनुसार काम गर्नुपनर्ने बताए।