आज हिन्दूहरुको महान पर्व महाशिवरात्री । आराध्यदेव भगवान शिवको पूजा आराधना गरी देशभर मनाइदैछ । शिव मन्दिरहरुमा बिहानैबाट भक्तजनको घुँइचो लागेको छ ।
काठमाडौंको पशुपतिनाथमा अघिल्ला दुई वर्ष कोरोनाका कारण नलागेको मेला यस वर्ष भने लागेको छ । पशुपतिनाथमा भक्तजनहरुको घुइँचो देख्न सकिन्छ ।
यसैबीच शिवजीको प्रसादको बहानामा लुकीछिपी गाँजा व्यापार समेत हुन सक्ने भन्दै पशुपति क्षेत्रमा निगरानी बढाइएको छ । महाशिवरात्रीको मेला भर्न आएका केही साधु तथा बाबाजीहरु नै गाँजा व्यापारमा संलग्न हुने गरेको सूचनाका आधारमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
शिवजीको प्रसादका लागि भन्दै बाबाजीहरुसँग युवाहरु नजिकिने र गाँजा लिने प्रवृत्ति रहेकाले निगरानी बढाउनुपरेको प्रहरीको तर्क छ । पशुपतिनाथ र त्यस आसपासका क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।








