नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट प्रधानमन्त्री छानिएको भएकाले जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव भनेपछि यीनीहरुको सातो जान्छ। प्रतिगमन भनेर कराएको सुन्नुभयो होला नि। अब विस्तारै चुनाव आउँदैछ। के अब देश प्रतिगमनमै जान लागेको हो त ? चुनाव भनेको प्रतिगमन नै हो त ?’
ओली सरकारमा रहेका पाँच दलीय गठबन्धनलाई फ्रिजबाट झिकेको आइसजस्तै भएको टिप्पणी गरे । ‘यो जनताबाट निर्वाचित भएको आएको सरकार होइन। हाम्रो देशकै सबैभन्दा ठूलो पार्टी हाम्रो हो। हामीले संविधान निर्माण र कार्यन्वयनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’
पाँच दलीय गठबन्धनमा सामेल भएका दलहरू एमालेसँगै डराएर चुनाव भनेपछि तर्सिने गरेको तर्क गरे। एमालेबाट विद्रोह गरेका माधव नेपाल नेतृत्वको पार्टी अवैध भएको आरोप लगाए। ओलीले भने, ‘सरकारमा ५ पार्टी भनिएको छ। न जनादेश छ वैधता। अवैध ढंगले निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोग र सभामुख तमासा गर्छ। यो सरकार स्वाभाविक ढंगले आएको होइन। यो सरकार असंवैधानिक ढंगबाट आएको छ।’
उनले अबको १४ महिनामा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर १५ महिनामा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरे। ओलीले व्यङ्ग्यात्मक शैलीमा भने, ‘यिनीहरू भनेको फ्रिजमा बनाइएको आइस डल्ला हुन्। यी डल्ला बाहिर राखेपछि आफैं पग्लिएर बिलाएर जान्छ।’
देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गरे। आफ्नो नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘सरकार जसको जस्तोसुकै होस्। तर, तपाईहरुले आफ्नो जिम्मेवारी नभुल्नुहोस्। हामी राष्ट्रसेवक हौँ। त्यही हैसियतले तपाईहरूले जनताको कामप्रति प्रतिबद्ध भएर लाग्नुहोस्।’