बलराम प्यासी
काठमाडौं, २६ फागुन । पहिलो र दोस्रो चरणको विश्वव्यापी महामारी ‘कोभिड— १९’ पछि नेपाल भ्रमणमा आउन चाहने इजरायली नागरिकहरुको स्वास्थ्य लगायत व्यक्तिगत सुरक्षाको लागि नेपालस्थित इजरायली राजदूतावासले आफ्नो सकृयता बढाएको छ ।
यसै सिलसिलामा इजरायली राजदूतावासका डेपुटी चिफ अफ मिशन/कन्सुल ताल स्वत्र्सम्यानले अध्यागमन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका अधिकारी र पर्यटक प्रहरीसंग नेपालमा पर्यटक आवागमनको तयारीका विषयमा छलफल गर्नुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समेत स्थलगत भ्रमण गरेका छन् ।

आउँदो पर्यटकीय मौसममा नेपाल भ्रमणमा आउने तयारीमा रहेका इजरायली नागरिकहरुको भ्रमण सरल, सुरक्षित, स्मरणयोग्य र सफल बनाउन ‘भ्रमणको तयारी’ अर्थात ‘प्रिपयेर द ग्राउण्ड’ को सिलसिलामा डेपुटी चिफ अफ मिशन स्वत्र्समेनले गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी तथा वोर्डका पदाधिकारीहरुसंग छलफल गरेका थिए ।
यसैगरी उनले पर्यटक प्रहरी नायव उपरिक्षक तर्कराज पाण्डे तथा प्रहरी निरीक्षक चन्द्र किशोर साहसंग भेटेर पर्यटकको सुरक्षाबारेमा छलफल गरेका थिए । यसैगरि उनी त्रिभुवन विमानस्थलमै पुगेर त्यहाँको वस्तुस्थितिबारे पनि अध्ययन गरेको नेपालका लागि इजरायली राजदूतावासले जनाएको छ ।

स्वत्र्सम्यानले विमानस्थलका अध्यागमन प्रमुख पुष्पराज शाहीसंग त्यहाँको वस्तुस्थितिबारे छलफल गरेका थिए ।
पछिल्लो समय नेपालका लागि इजरायली राजदूत हनान गोदर नेपालको कृषि क्षेत्रमा संलग्न किसानहरुको घरदैलोमा पुग्नुको साथै विभिन्न सामाजिक कार्यमा सकृयतापुर्वक सहभागिता जनाउँदै आएका छन् ।









