Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

मादी हत्याकाण्डमा अनुसन्धानका लागि थप चारजना तानिए


संखुवासभा जिल्लाको मादी–१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि अन्य चारजना तानिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशलाई समेत अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएसकेको छ। हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य ४ जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता एपसी राईले बताए।

प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि शनिबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको छ। नियन्त्रणका लिएकाहरू मृतक तेजबहादुरका छिमेकी हुन्। तर, नियन्त्रणमा लिएकाहरुको नाम भने खुलाइएको छैन। मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनस् घटनास्थल पुगेको प्रवक्ता राईले बताए। घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपीभीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिहेको प्रवक्ता राईले जानकारी दिए।

गत भदौ २१ गते बिहान यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो। लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ। लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य ४ जना माथि समेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए।

प्रहरीले मृतक रञ्जनाको हराएको मोबाइल लोकबहादुरको घरमा फेला पारेपछि अनुसन्धान लोकबहादुर र उनका भाइ नरेशमाथि केन्द्रित भएको छ। संखुवासभा प्रहरीलेघटनाको सातौं दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार