प्रतिनिधि सभा बैठक सुरु भएको छ । एमाले सांसद्को विरोधकाबीच सभामुख अग्नि सापकोटाले विनियोजन विधेयकमाथि छलफल अगाडि बढाएका छन् । आज विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकाएर पारित गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले बजेट माथिको छलफलमा समेत नाराबाजी जारी राखेको हो । आफूले कारबाही गरेका १४ सांसद्लाई कारबाही नगरेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।
आज विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ । विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी कार्यसूची तय गरिएको छ ।





