
राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ यतिबेला चर्चामा रहेका उम्मेदवार मध्ये एक हुन् । कलाकारिता क्षेत्रमा दशकौं समय व्यतित गरेको श्रेष्ठ उमेरले ७० कटेपनि आफूलाई युवा भन्न रुचाउँछन् । जीवनको उतरार्धमा राजनीतिमा किन भनेर आजको प्रेस डटकमले जिज्ञासा राख्दा उनले कुस्ती खेल्ने भए पो युवा नै चाहिन्थ्यो त भनेर ठट्यौली जवाफ दिए । प्रस्तुत छ उनै श्रेष्ठसँग आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :
तपाई लामो समय कलाकारिता क्षेत्रमा रहेको मान्छे, जीवनको उतरार्धमा चाहिँ राजनीतिमा लाग्ने इच्छा कसरी जाग्यो ?
एक किसिमले भन्ने हो भने मैले सामाजिक कार्यकर्ताका हिसाबले धेरै वर्षदेखि काम गरेँ । आफ्नो जिल्लामा होस या आफू बसेको डिल्लीबजार घट्टेकुलोमा या अन्यत्र कतैपनि कलाकारिता क्षेत्रबाट जति आमदर्शकले मलाई मन पराए, माया गरे दर्शकहरुको माया र सदभावले म कलाकारका रुपमा स्थापित भएँ र मलाइ धेरैले चिने । तपाईँले भनेजस्तै लामो समय कलाकारिता क्षेत्रमा रहँदा म धेरै मानिसको मन मुटुमा बस्न सफल भएँ । जसका लागि म धेरै आभारी छु । सामाजिक संस्थाहरुमा रहेर काम गर्दा मैले देखे भोगेको कुरा जहाँ पनि राजनीतिक आग्रह र्पूवाग्रह राखिँदोरहेछ । स्वतन्त्ररुपमा काम गर्न अलि समस्या पर्ने । त्यहिभएर बरु राजनीतिक रुपमा नै सामाजिक सेवाको काममा लागौं न भन्ने लाग्यो र म राजनीतिमा होमिए ।
अलि पहिले नै राजनीतिमा नलागेर यो बुढेसकालमा चाहिँ किन भन्ने प्रश्न गरेको यहाँलाई ?
जति काम गर्दै गयो जति समाजमा भिज्दै गयो त्यति काम गर्ने उत्प्रेरणा, भित्रैदेखि उर्जा प्राप्त भइरहँदो रहेछ । मलाई म जीवनको उतरार्धमा छु , मेरो उमेर सक्किसक्यो , म रिटाएर भइसकेँ अब म जिन्दगीमा केहि गर्न सक्दिनँ भन्ने कहिल्यै लागेन । तपाईँ हेर्नुहोस् न केही देशका प्रधानमन्त्रीहरु जो ९०÷९२ वर्षका छन् तर, राम्रोसँग जनताको मन जित्नेगरी काम गरिरहेका छन् । म त कुस्ती खेल्न जान लाग्या त हैन नि, कुस्ती खेल्नलाई पो बल चािहन्छ, युवा शक्ति हुनुप¥यो । मेयर भएर मैले त नीति निर्माण गर्ने हो, योजना बनाउने हो । त्यो गर्नका लागि सोचका हिसाबले म अझैपनि युवा नै छु ।
तपाईले आफ्ना छोराछोरी, नाति–नातिना पुस्ताका कतिपय उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ यो चुनावमा कस्तो अनुभव भइरहेको छ ?
यो मेरा लागि एउटा नितान्त नौलो अनुभव हो । यसमा विभिन्न राजनीतिक दाउपेच पनि हुदाँ रहेछन् कसैलाई यता एउटा कुरा उता अर्को कुरा गर्नुपर्ने रहेछ । यता ठिक छ भनेर उता फर्केपछि फटाहा पनि भन्नुपर्दो रहेछ त्यसबाट चाहिँ म टाढा हुन चाहन्छु । जो तपाईँले म भन्दा कम उमेरकाहरुसँगको प्रतिस्पर्धाको कुरा गर्नुभयो मलाई त मेरा प्रतिस्पर्धी नै छैनन् भन्ने लाग्छ । किनकि मलाई धेरैले मन पराएका छन् । म जित्छु भन्ने कुरामा ढुक्क छु ।
तपाईले अरु दल पनि रोज्न सक्नुहुन्थ्यो तर, किन राप्रपा नै रोज्नुभयो ?
अरु राजनीतिक दलले पनि मलाई सोधेका थिए, कुरा पनि आएको थियो । तर, देशप्रति चिन्तित दल मैले राप्रपा नै पाएँ । राष्ट्र, राष्ट्रियता, अखण्डता, सनातन धर्म र राजसंस्था बोकेको पार्टी भन्दा राम्रो पार्टी अरु कुनै हुन सक्छ भन्ने मलाई लागेन । त्यहीभएर मैले राप्रपा नै रोजेँ ।
कमल थापाले नेतृत्व गर्दाका बखत तपाई राप्रपामा किन जानुभएन र अहिले राजेन्द« लिङदेनले नेतृत्व गरेपछि चाहिँ किन जानुभयो ?
म व्यक्ति विशेषमा जान्नँ । म पार्टीको कुरा गर्छु, अहिले राजेन्द्र लिङदेनले नेतृत्व लिएपछि म उहाँको विचारबाट धेरै प्रभावित भएँ । देशलाई भ्रष्टाचारले जीर्ण बनाएको छ यसबारेमा लिङदेनले भन्नुभएको छ, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाए सरह हो । यति धेरै राम्रो विचार भएको नेताले नेतृत्व गरेको पार्टी अरु भन्दा राम्रो हुन्छ भनेर राप्रपामा लागेको हुँ ।
तपाई मेयर हुनुभयो भने सबैभन्दा पहिलो काम चाहिँ के गर्नुहुन्छ ?
राष्ट्रिय कला संस्कृति, मठ मन्दिर र परापूर्वकालदेखि चलीआएका गुठी, हाम्रा चाडपर्व, संस्कारलाई जगेर्ना गर्ने काम मेरो पहिलो हुनेछ । अर्को कुरा युवाहरुलाई रोजगारी दिने वातावरणको व्यवस्था गर्छु र जेष्ठ नागरिकका लागि टोल टोलमा सरकारको नीति अनुरुप स्वास्थ्य क्लिनिक सहितको दिनचर्या बिताउने ठाउँ दिवा स्याहार केन्द्रको व्यवस्था गर्नेछु । साथै उनीहरुको घरघरमा स्वास्थ्य परीक्षण गर्ने वातावरण बनाउने र प्रत्येक वडा वडामा बच्चाहरुले खेल्ने ३÷४ क्लबको निर्माण गर्नेछु । फोहोर व्यवस्थापन, बाटोघाटो ढल व्यवस्थापन लगायतका विषय मेरो प्राथमिकतामा पर्नेछन् । हाम्रो पार्टीले जारी गरेको जुन प्रतिबद्धतापत्र छ त्यसको म अक्षरसः कार्यान्वयन गर्नेछु ।
अरु उम्मेदवार भन्दा म चाहिँ के कुरामा बलियो छु जस्तो लाग्छ यहाँलाई ?
म राजनीतिक आग्रह पूर्वाग्रह राख्ने मान्छे होइन । म कसैलाई राजनीतिक पूर्वाग्रहका दृष्टीले हेर्दिनँ । मेरो सबैभन्दा बलियो पक्ष यही हो । अर्को कुरा राप्रपाप्रति देशभर जुन जनलहर उर्लिएको छ त्यसले मेरो उम्मेदवारी बलियो बनाएको छ ।
मेयर बन्न ठूलो धनराशी खर्च हुन्छ भन्छन् कति पैसा ठीक पार्नुभएको छ ?
चुनावमा मेरो एक पैसा पनि खर्च हँुदैन । मैले मेरो साथीहरुलाई तपाइहरु सहयोग गर्नुहुन्छ भने यो चुनावको प्रचार प्रसारमा आ–आफैंले खाने व्यवस्था गर्नुहोस् भनेको छु । साथीहरुले आ–आफ्नै तबरले गर्नुहुन्छ । महानगरपालिकाका राष्ट्रभक्त नेपालीहरु यो कलाकारिता क्षेत्रबाट आएको हो यसलाई जिताउनुपर्छ भनेर लागि पर्नुभएको छ । मैले सबैलाई खुला रुपमा भनेको छु, म एक पैसा पनि खर्च गर्न सक्दिनँ ।
बिना गठबन्धन चुनाव जित्न सकिन्छ भन्ने लागेको छ ? ठूला दलहरुले त सकिदैन भनेरै होला गठबन्धन गरेका छन् ।
यहीँ त दुर्भाग्य हो । त्यस्ता दलहरुको आत्मबल लुलो भएको देखेर म छक्क पर्छु यदि आत्मबल भएको भए त एक्लै लडन सक्ने हिम्मत हुनपथ्र्यो नि । यीनिहरु के भने सबै बाँड्ने, सबै भागबण्डा लगाउने गठबन्धन भनेको नै भागबण्डा लगाउने, भोली सत्तामा पुगिसकेपछि भागबण्डा लगाएर आंफ्नो व्यवस्था मिलाउने । गठबन्धनमा रहेकाहरु भोली भागबण्डाकै विषयलाई लिएर मारमुङ्ग्री गर्छन् भन्ने जनताले बुझेका छन् । त्यसैले उनीहरुलाई मत दिनुभन्दा हामीलाई मत दिनु जनताले श्रेयष्कर ठान्नेछन् ।