काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उम्मेदवारी घोषणा गरेसँगै आफूले नब्बे हजार ८३५ मत ल्याएर जित्ने दाबी गरेका थिए । उनले यो दाबी गरिरहँदा कतिपयले उनलाई हावादारी भनेका थिए भने कतिपयले बालेनले त्यत्तिकै नब्बे हजार ८३५ भोट भनेका होइनन्, उनले त्यति भोट ल्याउन पनि सक्छन् भनेका थिए ।
उनले किन ठ्याक्कै तोकेरै मत संख्या भने ? उनले किन ९० हजार ८३४ या ९० हजार ८३६ भनेनन् ? ३५ नै भन्नुको कारण के थियो होला ? चुनावी प्रचारका क्रममा धेरैको मनमा यो प्रश्न उब्जिएको थियो । केही सञ्चार माध्यमले उनलाई यो प्रश्न पनि गरे । तर, उनले आफूले मिहिन ढंगले हिसाब गरेर त्यसो भनेको जवाफ दिएका थिए ।
ज्योतिषीले पनि यो तबरले भविष्यवाणी गर्दैनन् तर, बालेनको भविष्यवाणीको रहस्य के हो भनेर प्रश्न गर्नेहरु प्रशस्तै थिए । उनले मतदान गर्ने बेलामा ज्योतिषीलाई हेराएर वैशाख ३० गते बिहान ११ः०३ को साइतमा मतदान गरेका थिए । ज्योतिषीलाई नै हेराएर मतदान गरेपछि त उनले भनेको जीतको अंकमा न केही छ कि क्या हो भन्ने जो कोहीलाई पर्ने नै भयो । तर, जीतका लागि बालेन शाहले दाबी गरेको अंक ल्याउनै परेन । उनले ६१ हजार ७६७ मत ल्याएर चुनाव जिते । जुन मत उनले गरेको दाबी भन्दा २९ हजार ६८ मत कम हो ।
बालेन शाहलाई यसपटक जीतका लागि ६१ हजार ७६७ मत पनि आवश्यक नपर्ने रहेछ । उनका निकटतम प्रतिस्पर्धी सिर्जना सिंहले पाएको मत ३८३४१ भन्दा एक मात्रै धेरै अर्थात ३८३४२ ल्याएको भए पनि जित्ने रहेछन् । तर, उनले सिर्जना सिंहको भन्दा तेइस हजार ४२६ मत धेरै ल्याएर चुनाव जिते ।
उनले जति मत ल्याएर चुनाव जिते त्यो तुलनात्मक रुपमा निकै ठूलो मतान्तर हो । गठबन्धनसहित देशका स्थापित पार्टीहरुलाई पराजित गर्न सक्नु चानचुने कुरा होइन ।
अहिले उनले जित्दा उनका समर्थक र शुभेच्छुकहरुमा खुसीसँगै एउटा कौतुहलता भने उब्जिएको छ । बालेनले दाबी गरे झैं ९०८३५ मत किन आएन होला ? जित्छु भन्नेमा यति ढुक्क बालेनको आखिर २९ हजार ६८ मत चाहिँ कहाँ गयो होला ? केहीगरी बालेनले दाबी गरे झैं नब्बे हजार ८३५ मत नै आएको भए बालेनलाई कस्तो रुपमा हेरिन्थ्यो होला ? उनलाई नेता मात्रै भनिन्थ्यो होला कि यो दुनियाँको खतरा ज्योतिषी पनि भनिन्थ्यो होला ?
उनका एक शुभेच्छुक भन्छन्, बालेनले दाबी गरेको तर, प्राप्त हुन नसकेको २९ हजार ६८ मत केही सिर्जना सिंहकोमा, केही केशव स्थापितकोमा, केही सुमन सायमीकोमा अनि केही मदनदास श्रेष्ठकोमा गएछ भन्न सकिन्छ ।
केही चाहिँ बालेनको लौरोमा भनेर हालेको मत राप्रपा नेपालको चुनाव चिन्ह तीरमा गएको देखिन्छ । लौरो र तीर उस्तैउस्तै देखेर केही झुक्किएका हुन् । जबकी काठमाडौंमा राप्रपा नेपालका उम्मेदवार नै थिएनन् ।







