जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालका विभिन्न भूभागमा सोमबारसम्म वर्षा हुने भएकोले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण बिहीबारदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मनसुन पूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको महाशाखाले बताएको छ ।
आज शनिवार प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेको बताउँदै महाशाखाले भनेको छ, “नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको हो ।”
“आज पश्चिमका पहाडी भूभागहरूमा पनि वर्षाको सम्भावना रहेको छ । मौसम तत्काल खुला हुने भन्दा पनि अझै ३ दिनसम्म बदली हुने नै देखिएको छ ।” महाशाखाले भनेको छ, “मौसमको यो अवस्था सोमबारसम्म रहन सक्छ । पूर्वी भाग, बागमती प्रदेश, मधेस प्रदेशमा भोलि पनि हल्कादेखि मध्यम स्तरको वर्षाको सम्भावना रहेको छ ।”






