
सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालहरुबाट विभिन्न ९८ प्रकारका औषधीहरु निःशुल्क उपलब्ध गराउँने भएको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री जनार्दन शर्माले औषधीमा सबैको पहुँचको उद्देश्यका साथ यस्तो व्यवस्था गरेको जानकारी दिए ।
यस्तै ४० वर्षमाथिका नागरिकहरुका लागि वर्षमा एकपटक नसर्ने रोगहरुको निःशुल्क परीक्षणको व्यवस्था गरिने बजेटमा उल्लेख छ । सबै प्रकारका क्यान्सर रोगीहरुलाई उपचारका लागि मासिक ५ हजार रुपैंयाँ उपलब्ध गराइने पनि बजेटमा व्यवस्था छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप अभियान सञ्चालन गरिने, निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरिने लगायतका विषय यसपटकको बजेटमा समावेश गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।