
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाएकी छिन् ।
राष्ट्रिय सभामा जारी बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै उनले ६८ वर्ष पुगिसकेका शीर्ष नेताहरुलाई भत्ता खाएर बस्न आग्रह समेत गरिन् ।
“अहिले जुन काम गर्न नसक्ने भनेर ६८ (वर्ष) राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्तिनै पुगिसक्नुभएछ ६८ त । शीर्षस्थ नेताहरु सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरु सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् । काम गर्न सक्नुहुन्न भने । ५ महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ?”
मुलुक आर्थिक संकटमा फसिरहेको समयमा सरकारको यो निर्णयले देशलाई थप आर्थिक भार बढ्ने विचार उनले राखिन् ।
“औसत आयु जति बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो ।” सांसद पौडेलले भनिन्, “तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ?”