
नेपालगञ्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने विषयलाई लिएर तनाव उत्पन्न भएको छ ।
आज दरबार हत्याकाण्ड भएको २१ औं वर्ष भएको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले त्यहाँ वीरेन्द्रको शालिक पुनःस्थापना गर्न खोजेका थिए ।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेर जडान गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा राजावादीहरु प्रहरीमाथि जाइलागेपछि तनाव उत्पन्न भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । त्यस क्रममा राजावादी समर्थक युवाहरु घाइते समेत भएका छन् ।
राजावादीहरुको समूहले धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको ०६२–०६३ की सहिद सेतु विकको शालिक पनि तोडफोड गरिदिएका छन् ।
सेतु विक चोकलाई दोस्रो जनआन्दोलनभन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । जनआन्दोलनपछि उक्त चोकलाई सेतु विक चोक नामाकरण गरी सो स्थानमा उनकै सालिक राखिएको थियो ।
२०६२/६३ को जनआन्दोलनअघिसम्म धम्बोजी चोकमा राजा वीरेन्द्रको सालिक थियो । आन्दोलनकारीहरुले सालिक तोडफोड गरेका थिए । त्यसपछि तोडफोड भएको सालिक हटाएर राष्ट्रिय झण्डा राखिएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रशासनले अहिले घटनास्थल वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ ।