नेकपा एमालेका नेता सूर्य थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई देउवाका चुत्था नोकर भनी टीप्पणी गरेका छन् ।
प्रचण्ड र माधवकुमार नेपालले आफूहरुलाई ओलीका तर्फबाट प्रधानमन्त्री पदको अफर आएको कुरा बताइरहँदा पूर्व प्रधानमन्त्री केपी ओलीका तत्कालिन प्रेस सल्लाहकार सूर्य थापाले त्यसको कडा प्रतिबाद गरेका हुन् ।
प्रचण्ड र माधवकुमार नेपाललाई एमालेबाट प्रधानमन्त्रीको अफर सम्भव नरहेको भन्दै उनले यस्तो कुरा सपनामा देखेको हुन सक्ने बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् : प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर, त्यो पनि एमालेबाट ? यो निर्लज्ज आत्मस्तुति र आत्मप्रचार बाहेक केही होइन । अध्यक्ष केपी शर्मा ओलीले यस्तो अफर गर्ने सपना पनि तिनै दुई जनाले निद्रामा मात्रै देखेका हुनसक्छन्, समकालीन नेपाली राजनीतिमा यो संभव छैन । स्वर्ग जाने भन्दै नर्कको टिकट काटेका देउवाका चुत्था नोकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन ।








