
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताउँन सक्रिय रुपमा लागेको टीमले काठमाडौं १ को सांसदमा पुकार बमलाई अघि सारेको छ ।
बालेन साहलाई काठमाडौंको मेयरमा जिताउँन लागिपरेको समुह प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनमा होमिएको हो । यो समुहले काठमाडौंका सबै क्षेत्रमा निर्वाचनको मिति घोषणा हुनु अगावै उम्मेदवार अघि सार्ने तयारी गरेको छ ।
शुक्रबार मात्रै पुकार बमले काठमाडौं क्षेत्र नं १ को सांसदका रुपमा आफ्नो उम्मेदवारी घोषणा गरे । क्षेत्र नं १ कांग्रेस नेता प्रकाशमान सिंहको क्षेत्र हो । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी श्रीमति सिर्जना सिंह स्वतन्त्र उम्मेदवार बालेन साहसँग पराजित भएकी थिइन् । बालेन साहलार्ई जिताउँन लागिपरेको टीमले नै पुकार बमलाई अघि सारेका कारण काठमाडौं क्षेत्र नं १ को संसदीय निर्वाचन रोचक हुने देखिएको छ ।
पुकार बम इनफ इज इनफ अभियानका अगुवा हुन् । यो अभियानले कोरोना कालमा काठमाडौंमा गरेको दबाबमुलक कार्यक्रमले राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा पाएको थियो । कोरोना पीडितलाई सरकारले सम्बोधन गर्न नसकेको, भ्याक्सिन उपलब्ध नगराएको, सरकार भ्रष्टाचारमा डुबेको लगायतका आरोप लगाउँदै पुकार बम आमरण अनसनमा समेत बसेका थिए ।
सामाजिक सञ्जालमा इनफ इज इनफको प्रभाव यति ठूलो परेको थियो कि अभियान शुरु भएको दुई दिनमा नै लाखौं फलोअर्स फेसबुक पेज तथा ग्रुपमा जोडिएका थिए । स्वतस्फुर्त रुपमा अभियानप्रति युवाहरुको आकर्षण बढेपछि दल तथा सरकारले त्यतिबेलै अभियानबाट आफूहरुलाई चुनौती रहेको विश्लेषण गरेका थिए ।
पुकार बम २०६९ को अकुपाई बालुवाटार अभियानका नेतृत्वकर्ता हुन् भने डा.गोविन्द केसीको स्वास्थ्य अभियानका अगुवा समेत हुन् । कुनैबेला विवेकशील नेपाली दलमा संस्थापक उज्ज्वल थापासँगै नेपाल खुल्ला छ अभियानमा सक्रिय सहभागिता जनाएका बम सोसियल वर्क मा पिएचडी गर्दैछन् । उनले एन्थ्रोपोलोजी र पोलिटिकल साइन्समा मास्टर्स डिग्री गरेका छन् ।